News

शिक्षा समिति सभापतिमा थापा निर्विरोध निर्वाचित

फागुन,०९ ...

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ। 

बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेको थियो। उहाँको उम्मेदवारीमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहनु भएको थियो। अन्य कुनै उम्मेदवारी नपरेकोले थापा निर्विरोध निर्वाचित हुनु भएको हो। 

समिति सभापति थापाले बुधबार साँझ सभामुख देवराज घिमिरे समक्ष पद तथा गोपनीयताको शपथसमेत लिइसक्नु भएको छ। यसअघि सो समितिमा नेकपा एसकै तर्फबाट भानुभक्त जोशी सभापति रहनु भएको थियो।

जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापति पदमा फेरी नेकपा एसकै सांसद थापाले अवसर पाउनु भएको हो।