आज हामी इतिहासको एउटा विशिष्ट मोडमा छौँ । एकातर्फ मुलुकको स्वतन्त्रता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा र विकास, नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा र थप विकास एवं विस्तार गर्ने जस्ता गहन जिम्मेवारीहरू हाम्रो काँधमा आएका छन् भने अर्कोतर्फ  पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन एवं रूपान्तरण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्ने र समाजवादी क्रान्तिको कार्यदिशालाई सशक्त ढङ्गले अगाडि बढाउने दायित्व पनि हाम्रै काँधमा छ । यी गहन जिम्मेवारीहरू र दायित्व बहन गर्न हामी सुव्यवस्थित रूपमा सङ्गठित एवं परिचालित हुनुपर्दछ । हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कि हाल नेपाली राजनीतिमा व्याप्त व्यक्तिवादी अहङ्कारवाद, दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, चरम गुटबन्दी र निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध तिखो वैचारिक सङ्घर्ष सञ्चालन गरेर मात्रै उपर्युक्त जिम्मेवारीहरू पूरा गर्न र दायित्व वहन गर्न सक्ने छौँ । त्यसैले आउनोस् हातमा हात र काँधमा काँध मिलाएर उपर्युक्त गहन जिम्मेवारी पूरा गर्न र दायित्व वहन गर्न दृढ सङ्कल्पित भएर अगाडि बढौँ । कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र एकताको अभियान अगाडि बढाउने र समाजवादको झण्डालाई माथि उठाउने महान अभियानमा दृढ विश्वासका साथ जुटौँ । सङ्गठित शक्ति निर्माण र नेता तथा कार्यकर्ताको सक्रियता एवं गतिशीलतामा नै सफलता निर्भर गर्दछ । बलियो सङ्गठित शक्ति निर्माण गरेर दृढ निश्चय र गतिशीलताका साथ हामी अगाडि बढ्यौँ भने सफलता सुनिश्चित छ ।                                                                                                                

क्रान्तिकारी अभिवादन सहित, धन्यवाद !