पार्टी परिचय
नेपाल कम्युनिष्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो । यसको स्थापना २२ अप्रिल १९४९ तदनुसार १० वैशाख २००६ मा भएको थियो । आफ्नो लामो इतिहासमा यो पार्टी अनेकौं प्रकारका फुट, विभाजन, पुनर्गठन र एकीकरणको प्रक्रियाबाट गुज्रिएर आएको छ र आज यो नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रूपमा क्रियाशील छ । पार्टीको नाम/संक्षेपमा नेकपा (एकीकृत समाजवादी) रहेको छ ।
पार्टीले आफ्नो स्थापना कालदेखि नै सङ्घर्षका शान्तिपूर्ण र सशस्त्र रूपहरू अवलम्बन गर्दै नेपाली राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र जनक्रान्तिमा अग्रणी भुमिका निभाएको छ । २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिबाट सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीयता, धर्म निरपेक्षता, समावेशीता, समानुपातिकताजस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा हाम्रो पार्र्टीको निर्णायक भूमिका रहेको छ ।
हाम्रो पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो । हाम्रो पार्टीले समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रता अर्थात साम्यवादसम्म पुग्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दछ । क्रान्तिका उपलब्धीहरूको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने हाम्रो पार्टीको तात्कालिक लक्ष्य हो । दलाल नोकरशाही पुँजीवादी शोषण, दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध सङ्घर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्नु र सामन्तवादको अवशेषका रूपमा रहेका कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु पार्टीका तात्कालिक मुख्य कार्यभार हुन् ।
हाम्रो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिका लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ र जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ ।
यो पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो । यसमा रहेका द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, परिवर्तनकारी दृष्टिकोण, श्रमजीवी वर्गको पक्षपोषण गर्ने दृष्टिकोण, जन–सार्वभौमसत्ताको दृष्टिकोण र सिद्धान्त र व्यवहारबिच एकरूपताको दृष्टिकोणजस्ता मूलभूत सैद्धान्तिक प्रस्थापनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् ।
पार्टीको सङ्गठनात्मक सिद्धान्त अर्थात पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको सिद्धान्त हो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, श्रमजीवी वर्गपक्षधरता र समाजको आमूल परिवर्तन गर्ने दृष्टिकोण यस सिद्धान्तका सार पक्ष हुन् भने सङ्गठनात्मक संरचनामा मातहतीय प्रणाली एवं पद्धति यस सिद्धान्तको रुप पक्ष हो । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । यो पार्टी जन आधारित कार्यकर्ता पार्टी  हो । यो पार्टी सबै खाले प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको छ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीका सदस्यहरूको कर्तव्य हुनेछ ।
पार्टीको सार्वभौम अधिकार पार्टीका सङ्गठित सदस्यहरूमा निहीत रहनेछ । यसको प्रयोग पार्टी विधान अनुसार हुनेछ । पार्टीको सङ्गठनात्मक संरचना मुलुकको सङ्घीय संरचना अनुरूपको हुनेछ । पार्टीका सबै कमिटीहरू समावेशी चरित्रका हुनेछन् । हरेक कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवाहरूलाई राखिने छ । यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षमा सामेल हँुदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने छन् । उनीहरू जनसरोकार र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन् । पार्टीका सम्पूर्ण सदस्यहरू मुलुकको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतत्वकासाथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्यहरू हासिल गर्न जनआधारित, सुसङ्गठित, एकताबद्ध, अनुशासित, गतिशील, जुझारु र अग्रगामी राजनीतिक भूमिका निर्वाह गर्दै अघि बढ्न दृढ संकल्पित रहने छन् ।

नेकपा (एकीकृत समाजवादी) कस्तो पार्टी हो ?

- यो पार्टी समाजको अग्रगतिका निम्ति अभियान सञ्चालन गर्ने तथा देश र जनतालाई दलाल पुँजीबादीहरुको घेरामा कैद गर्ने होइन राष्ट्रिय पुँजीको निर्माण गर्दै वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि स्पष्ट समाजवादी कार्यदिशा अङ्गालेको पार्टी हो ।

- यो पार्टी समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक तथा साँस्कृतिकलगायत सबैखाले विभेदको अन्त्यका निम्ति अभियान सञ्चालन गर्ने पार्टी हो ।

- यो पार्टी राजनीतिक जागरण एवम् जनजागरण अभियान सञ्चालन गर्ने पार्टी हो । यो पार्टी केवल ‘चुनावदेखि चुनावसम्म’को मान्यतामा चल्ने पार्टी होइन, ‘जनतादेखि जनतासम्म’को जनकेद्रित नीति लिएर जनताको बिचमा जाने जनआधारित पार्टी हो ।

- यो पार्टी व्यक्तिका इच्छा आकाङ्क्षामा चल्ने होइन, विचार र विधिका आधारमा चल्ने पार्टी हो । यो पार्टी ‘व्यक्तिवादी होइन, विचारवादी’ पार्टी हो । यो पार्टी ‘नेता प्रधान होइन, नीति प्रधान’ पार्टी हो । तसर्थ यो पार्टी स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चल्ने पार्टी हो ।

- यो पार्टी भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र सबैखाले विकृति विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने पार्टी हो ।

- यो पार्टी इमान्दार, कर्तव्यनिष्ट, जन सेवामा समर्पित, देशभक्तिको भावनाले ओतप्रोत सामाजिक, साँस्कृतिक, आर्थिक विकृति/विसंगतिका विरुद्ध जुझ्ने र समाजको क्रान्तिकारी रुपान्तरणलाई अभियानको रुपमा अघि बढ्ने र बढाउने क्रान्तिकारीहरुको पार्टी हो ।