आज मुलुकलाई समाजको अग्रगतिका निम्ति अभियान सञ्चालन गर्ने पार्टी चाहिएको छ । समाजलाई पुँजीवादी घेरामा कैदगर्ने होइन समाजवादी दिशामा अगाडि बढाउने पार्टी चाहिएको छ । व्यक्तिका इच्छा आकाङ्क्षमा चल्ने होइन विचारका आधारमा चल्ने अर्थात व्यक्तिवादी होइन विचारवादी पार्टी चाहिएको छ । भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तवादजस्ता विकृति विसङ्गतिहरूका विरुद्ध सङ्घर्ष गर्ने पार्टी चाहिएको छ । समाजमा विद्यमान विभिन्न प्रकारका विभेद, कुरीति र कुसंस्कारहरूको अन्त्यका निम्ति अभियान चलाउने पार्टी चाहिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यिनै आवश्यकता पुरागर्ने पार्टी हुनेछ । यो पार्टी स्पष्ट समाजवादी कार्यदिशा अँगालेको पार्टी हुनेछ । स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढङ्गले चल्ने पार्टी हुनेछ । नेता प्रधान होइन नीति प्रधान पार्टी हुनेछ । व्यक्तिवादी होइन विचारवादी पार्टी हुनेछ । यसले भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावाद, कृपावाद र उपभोक्तावादलगायत सबैखाले विकृति विसङ्गतिका विरुद्ध सङ्घर्ष सञ्चालन गर्नेछ । समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक सांस्कृतिकलगायत सबैखाले विभेदको अन्त्यका निम्ति अभियान सञ्चालन गर्नेछ । राजनीतिक जागरण अभियान र जनजागरण अभियान सञ्चालन गर्नेछ । यी सबै कार्यमा युवाहरूलाई परिचालित गरिने छ र त्यसको माध्यमबाट युवाहरूको नेतृत्व विकासमा पहल गरिने छ । यो पार्टी केवल चुनावदेखि चुनावसम्मको मान्यतामा चल्ने पार्टी हुनेछैन, जनतादेखि जनतासम्मको जनकेद्रित नीति लिएर जनताबिच जाने जन आधारित पार्टी हुनेछ । सङ्गठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन ‘अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म नै ‘ज्येष्ठ कम्युनिष्ट मञ्च’ गठनगरी अभिभावकत्व र कार्य सम्पादनको व्यवस्थित प्रणाली निर्माण गरिने छ । पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरूलाई राखिने छ । 


प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मुल्याङ्कन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अवलम्वन गरिने छ । राजकीय जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा प्रत्येक तहका निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्ने स्पष्ट मापदण्ड तयार गरी सोही आधारमा उम्मेदवार बनाइने छ । पार्टी कमिटीले आन्तरिक रूपमा व्यवस्थित मापदण्ड बनाई प्रत्येक जन निर्वाचित पदाधिकारीको कार्य प्रगति र प्रभावकारिता मूल्याङ्कन गर्नेछ । त्यस मूल्याङ्कनलाई निश्चित तहसम्म सार्वजनिक गरिने छ । राजनीतिक तथा अन्य नियुक्तिहरू निश्चित मापदण्ड र प्रणाली अपनाई योग्यतामा आधारित, व्यवस्थित र पारदर्शी बनाईने छ । राजनीतिक तथा अन्य नियुक्ति प्राप्त गर्ने व्यक्तिहरूको पनि आन्तरिक रूपमा व्यवस्थित मापदण्ड बनाई कार्य प्रगति र प्रभावकारिता मूल्याङ्कन गरिने छ । त्यस मूल्याङ्कनलाई पनि निश्चित तहसम्म सार्वजनिक गरिने छ । पार्टीलाई उत्पादन कार्यसँग जोडिने छ । निश्चित सङ्ख्याका पूर्णकालिन नेता तथा कार्यकर्ताहरूबाहेक सबै पार्टी सदस्यलाई उत्पादन कार्यमा अनिवार्य रूपले जोड्ने नीति अवलम्बन गरिने छ । प्रत्येक कमिटीले आर्थिक परिचालन र व्यवस्थापनका स्पष्ट योजना बनाएर चल्ने प्रणाली स्थापित गरिने छ । वार्षिक योजना सहितको बजेट तयार गरी कमिटीको बैठकबाट पारित गर्नुपर्नेछ । विशेष कार्यक्रम तथा अभियानको पनि बजेट निर्माण गरी खर्च गर्ने र कमिटीबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिने छ । प्रत्येक कमिटीले पार्टी स्कूल तथा प्रशिक्षण अभियान चलाउने प्रणाली स्थापित गरिने छ ।
 

कमिटीले वर्षमा कम्तिमा दुई पटक पार्टी स्कूल/प्रशिक्षण सञ्चालन गर्नुपर्ने छ । पार्टी स्कूल/प्रशिक्षणमा सैद्धान्तिक बैचारिक विषयका अतिरिक्त उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय पुँजीको विकास, भ्रष्ट्राचार निवारण, सुशासन तथा जनसरोकारका बिषयहरू समेत समावेश गरिने छ । प्रत्येक कमिटीलाई जनउत्तरदायी बनाउन पार्टीको तर्फबाट एक स्थानीय तह एक जनसहजकर्ता तयार गरी आवश्यक तालिम तथा प्रशिक्षण दिएर टोल फ्री नम्बर सहित जनताको सेवामा परिचालन गरिनेछ ।